शुकदेव चापागाईं /
उपेन्द्र महतोको जन्म नेपालको पूर्वी तराई सिरहाको कर्जन्हामा सन् १९६० सालमा एक सामान्य परिवारमा भएको हो । उनको बुवाको नाम रामआशिष महतो र आमाको नाम फूलकुमारी महतो हो । उनले आफ्नो प्रारम्भिक शिक्षा सिरहाकै सरकारी विद्यालयमा गरेका थिए । इन्जिनियरिङको शिक्षा प्राप्त गर्न उनी काठमाडौंको इन्जिनियरिङ कलेज पुल्चोक क्याम्पसमा भर्ना भए । प्राविधिक क्षेत्रमा डाक्टर अफ साइन्सको पढाई गर्न रसिया तर्फ लागे र त्यहाँ उनले सो शिक्षा प्राप्त गरे ।
उनले सन् १९७९ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरे । त्यसपछि बेलारुस स्टेट पोलिटेक्निक एकेडेमी, मिन्स्क, बेलारुसबाट सन् १९८८ मा स्नातकोत्तर र त्यहीँको इन्टरनेशनल एकेडेमी अफ इन्फर्मेसन टेक्नोलोजीबाट सन् १९९१ मा पीएचडी र सन् १९९६ मा डीएससी गरे । उपेन्द्र सानो छँदा उनको पारिवारिक आर्थिक स्थिति कमजोर भएको अहिले पनि सम्झन्छन् ।
रसियामा डाक्टर अफ साइन्सको शिक्षा प्राप्त गरेपछि उनले रसियालाई नै प्राथमिकतामा राखेर आफ्नो इलेक्ट्रोनिक्सको व्यवसाय सञ्चालन गरे । सन् १९९१ मा सोभियत सङ्घको विघटन भएपछि रसियामा विदेशीले पनि लगानी गर्न अवसर पायो यहि मौकामा उनले आफ्नो इलेक्ट्रोनिक्सको व्यवसायको जग रसियामा बसाले र सो व्यवसाय चम्केपछि उनले त्यहाँ विभिन्न क्षेत्रमा लगानी गरेर धन आर्जित गर्न सफल भए ।
रसियामा उनी रसिया–नेपाल उद्योग व्यवसाय संघका अध्यक्ष भईसकेका व्यक्ति हुन् । उनी गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन् । उनले सन् २००३ देखि सन् २००९ सम्म यस संघको अध्यक्ष भएर कार्यभार सम्भालेका थिए । सन् १९९१ देखि व्यवसायमा हात हालेका उपेन्द्रको रसियामा इलेक्ट्रोनिक्स, तेल, भवन निर्माण, बैंक तथा मेसिनहरूको कारोबार रहेको छ । महतो रसियामा सफल व्यवसायीका रुपमा अघि बढ्दै गएपछि उनले संसारभर छरिएर रहेका नेपालीहरुलाई एकै मालामा उन्ने अभियान सुरु गरे । उनकै नेतृत्व र अभियानमा आज गैरआवासीय नेपाली संघ संसारभरि फैलिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन काठमाडौंमा हुन लाग्दा डा. महतोको योगदान र भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन ।
संघका संस्थापक अध्यक्ष महतोसँग गैरआवासीय नेपाली अभियानको बारेमा गरिएको कुराकानीको सारसंक्षेप उनकै शब्दमा यस प्रकार छ :
डा. महतो : सबभन्दा पहिलो कुरो के हो भने एनआरएन पहिले पनि थियो । जब नेपालीहरु विदेशमा काम गर्न र सीप सिक्न जान थाले त्यो बेला देखि नै यसको सुरुवात भएको हो । जब म सन् १९८२ मा रसियामा पढ्न गएँ, त्यतिबेला सोभियत युनियन कायम थियो । सोभियत युनियन विश्वकै अर्कै रुप थियो । राजनीतिक रुपमा जे जस्तो भएपनि पनि त्यहाँको व्यावहारिक जीवन अत्यन्त शान्त, सुरक्षित र राम्रो थियो । सोभियत युनियनमा एउटा राम्रो पक्ष के थियो भने जति नेपाली वा विदेशीहरु पढ्न आउँथे उनीहरु प्रायः सबै नै फर्किएर आफ्नो देशमा सेवा गर्न जान्थे तर पश्चिमा मुलुकहरुमा गएका नेपालीहरु प्रायः कम फर्केर धेरै जना उतै बस्थे ।
सन् १९८९ मा खुला अर्थ बजार नीति आउने बेलासम्म मेरो मनमा एउटा ईन्जिनियर बन्ने सपना थियो । ईन्जिनियर बनेर नेपालमा फर्किएर नेपालमै सेवा गर्छु भन्ने सोच मनमा थियो । नेपालमा जलविद्युतको प्रचुर सम्भावना छ भन्ने कुरा पहिले नै बुझेको हुनाले यही विषय सम्बन्धी पढेर फर्किन्छु र नेपालमै केही गर्छु भनेर म पढ्न गएको थिएँ । सन् १९८५ पछि रसियामा जब अलि अलि प्राईभेट बिजनेश खुला हुन थाल्यो तब नेपाल फर्किहाल्नु भन्दा पहिले केही नयाँ काम गरिहालौं कि भन्ने मनमा लाग्यो । हुन त म किसान परिवारबाट आएको मान्छे बिजनेश के हो भन्ने त्यस्तो जानकारी त थिएन ।
जब सन् १९८९ मा खुला अर्थ बजार नीति लागु भयो तब विदेशीले समेत लगानी गरी व्यवसाय गर्न पाउने कानुन बन्न थाल्यो । त्यो बेलामा विभिन्न सम्भावनाको खोजीमा म धेरै विदेश जान थालें । विदेशबाट सामानहरु ल्याएर बिक्री गर्न थालें । सरकारले सहयोग पनि ग-यो । जब व्यवसाय राम्रो हुँदै जान थाल्यो तब हाम्रो कम्पनीमा धेरै रसियन र विदेशीहरु काम गर्न थाले । उनीहरुसँग जब विदेश जान पथ्र्यो आफ्नै कम्पनीको पैसामा उनीहरुलाई स्वागत गर्दथ्यो अध्यागमनले । तर मलाई भने जहिले रोक्ने गर्दथ्यो । एक पटक दुई पटक होईन धेरै पटक त्यस्तो घटना घटेपछि मैले अपमान महसुस गर्दथें । युरोप अमेरिकाको भिसा लिन जाँदा समेत अपमान भएको महसुस गर्थें मैले । तर अहिले के बुझें भने म उनीहरुलाई दोष दिन्न किनभने हामी राम्रो देशका नागरिक भएपनि गरिब देशका छौं । गरिब देशका नागरिक भएको हिसाबले हामी उनीहरु कहाँ गएर बसिदिने, लुकिदिने गर्न थाल्यौं । यसरी गैरकानुनी ढंगबाट हामी उनीहरुको देशमा बसिदिएको हुनाले उनीहरुले कडा गर्नु स्वाभाविक नै हो ।
धेरैपल्ट अपमान भएको महसुस भएपछि यस्तो किन हुन्छ त भन्ने कुरा सोच्न थालें । म के निष्कर्षमा पुगें भने यो सबै कारण आर्थिक रहेछ । २१ औं शताब्दीमा अर्थलाई मात्रै महत्व दिंदा रहेछन् । आर्थिक हिसाबले कमजोर भएका मुलुकका मानिसहरु अर्काको मुलुकमा बस्देलान् कि भन्ने डर हुँदो रहेछ । हामी गरिब मुलुककै नागरिक भएको नाताले हामीलाई कडा गरेको रहेछ । मैले के बुझें भने व्यक्ति जतिसुकै सम्पन्न धनी भएपनि यदि उसको देश गरिब छ भने केही हुनेवाला रहेनछ । कुनै व्यक्ति व्यक्तिगत सफलताको जुनसुकै उचाईमा पुगेपनि यदि देश समृद्ध छैन भनेदेखि त्यो व्यक्तिगत सफलताको कुनै मान्यता हुँदैन रहेछ भनेर मुल मन्त्रको रुपमा मेरो दिमागमा पस्यो । त्यो अनुभूति मैले गरें ।
मैले केही साथीहरुसँग सरसल्लाह गर्न थालें । जीवा लामिछाने, भीम उदास जीहरुसँग छलफल गरें कि नेपालीहरुको विषयमा एउटा यस्तो संस्था बनाउने कि भनेर । जसमा नेपालीहरुको बारेमा नेपालमा पनि थाहा पाऊन् र नेपालीले बाहिर केही न केही गरेर बसेको छ भन्ने कुरा पनि थाहा पाऊन् भन्ने उद्देश्यले यस्तो साझा संगठन बनाऔं भन्ने छलफल भयो ।
यही दौरानमा केही साथीहरुसँग टेलिफोनमा पनि कुराकानी भयो । मलाई लाग्छ २००२ तिरको कुरा हो, कुरा गर्दा धेरै साथीहरुले मलाई के सल्लाह दिए भने महतो जी केमा लाग्नु भाको हो ? नेपालीहरुको प्रत्येक देशमा सयौं संस्था छ । तपाईले फेरि अर्को संस्था खोलेर या त राजनीतिक आकांक्षा पुरा गर्न खोजेको हो कि ? यदि राजनीतिक आकांक्षा छैन भने अर्को एक सय एक वटा संस्था किन जन्माउनु प¥यो ? संस्था खोलेर के नै हुन्छ र भन्ने अधिकांश साथीहरुको जोड थियो । मलाई मनभित्रैबाट के लागेको थियो भने हामीले एक सय एक वटा संस्था होईन कि एउटै संस्था बनाउन लागेका हौं भन्ने थियो । जुन संस्थामा अन्य सयौं संस्था अटाउँछन् । मैले भने हामी छाता संगठनको रुपमा नभई साझा संगठनको रुपमा अघि बढ्न खोजेका हौं । हेर्दा संगठन जस्तो भएपनि यसलाई अभियानको रुपमा लिएर जाऔं भन्ने मेरो प्रस्ताव थियो ।
मैले भने यसको मुख्य तीनवटा उद्देश्यहरु राखेर अगाडि बढ्ने । सबभन्दा पहिला नेपालीहरुलाई एक अर्काको बीचमा चिनजान गराउने, दोस्रो नेपालीहरुलाई बाहिर बस्दा पनि समस्या छ, त्यसैले नेपालीहरुको साझा आवाजको रुपमा अघि बढाउने । साझा संगठनको रुपमा एनआरएनलाई अघि बढाउने । तेस्रो कुरा हामी पहिलो पुस्ताका व्यक्ति हौं । हामीसँग सीमित स्रोत साधनहरु छन् । त्यसैले हामीले जानेको सीप, बुद्धि र पैसा सबै नलगेपनि त्यसको केही अंश सामूहिक रुपमा नेपालमा लैजान सक्यौं भने केही न केही नेपाललाई फाइदा हुन्छ । विदेशको प्रविधि, सीप र पैसा लग्यौं भने नेपाललाई समृद्धिको दिशामा अघि बढ्न महत्वपूर्ण हुन जान्छ । नेपाल समृद्ध भयो भने हामी सबैलाई राम्रो हुन्छ भन्ने हाम्रो सोचाई थियो । यी कुराहरु हामीले प्रष्टसँग राख्दा धेरै साथीहरुलाई यो कुरा मन प-यो ।
साथीहरुलाई कुरा त मन प-यो तर मन परेका साथीहरुलाई कसरी एक ठाउँमा ल्याउने, फिजिकल रुपमा साथीहरुलाई कसरी जोड्ने ? यो कुरामा हामीले ध्यान दियौं । नेपाली पहिलो पुस्ताका हामीमा ठूलो समस्या के थियो भने नेपाल भन्दा बाहिर हामी आफ्नै अस्तित्वको लडाईका लागि संघर्षरत थियौं । हामी जुन देशमा थियौं त्यही देशमा आफूले आफ्नो पहिचान बनाउन र स्थापित हुनका लागि लडिरहेका थियौं । संघर्ष गर्दै थियौं । त्यस्तो बेला समय निकालेर संस्थालाई समय दिनु, पैसा दिनु र गाली पनि सुन्नु कम्ती चुनौति थिएन हाम्रा लागि । त्यो बेला कुराहरु सुन्नु पथ्र्यो के चाहना हो ? किन यो संस्था खोल्यो ? किन यसलाई अन्तर्राष्ट्रियकरण गरिरहेको छ ? के यसमा स्वार्थ छ ? कतिपयले यो समेत भनेका थिए कि उपेन्द्र महतोले कालो धनलाई सेतो बनाउन यो अभियान सुरु गरेको हो भनेर । कतिले उपेन्द्र महतोले राजनीतिक अभिलाषा पुरा गर्न यस्तो संस्था खोलेको हो भनेर पनि भने । धेरै ठाउँबाट आलोचना भएपनि त्यो बेला देशकै स्थिति त्यस्तै थियो । तर मैले आलोचना सहेर पनि संस्थालाई अघि बढाए । केही साथीहरुसँग सल्लाह गरें । साथीहरु हौसिनु भयो । जोशिनु भयो ।
मलाई लाग्छ सन् २००३ को सुरुवात तिर हुनुपर्छ, अधिकांश साथीहरुको हौसला दिनुभन्दा पनि हतोत्साहित गर्ने प्रवृत्ति थियो । त्यतिखेर विश्वास भन्दा अविश्वास बढी थियो । केही सिनियर मान्छेहरुले सोच्थे यो महतो कहाँबाट आयो ? हामीले वर्षौंदेखि एनआरएनको बारेमा सोचिरहेका छौं । एजेण्डा उठाईरहेका थियौं । मलाई के लाग्यो भने, हामीले बोल्नुभन्दा पनि काम गर्नुपर्छ । आ आफ्नो ठाउँमा सिनियरहरुलाई नै अगाडि बढाउनुपर्छ भनेर म सहमत थिएँ । रसियामा हाम्रो समुदायको संख्या न्युन थियो । व्यक्तिगत फोन गरेर अमेरिका, लण्डन, अष्ट्रेलिया, जापान र अन्य युरोपियन मुलुकहरुमा रहेका नेपालीहरुलाई जम्मा गथ्र्यौं । छलफल अगाडि बढाउँथ्यौं ।
हामीले पहिलो पटक लण्डनमा भेला ग-यौं । लण्डनमा डा. राघव धिताल, निमा शेर्पा र चिरञ्जिवी ढकालहरुले साथ दिनुभयो । त्यहाँको भेलाले के निर्णय ग-यो भने नेपालमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने । तर नेपालमा माओवादीको युद्ध चलिरहेको थियो । राजनीतिक रुपमा नेपालको अवस्था अलि जटिल थियो । केही साथीहरुले किन नेपालमा सम्मेलन गर्ने ? त्यहाँ सुरक्षाको जोखिम बढी छ, बरु न्युयोर्कमा गरौं, बरु लण्डनमै कार्यक्रम गरौं भन्ने तर्क गर्नुभयो । मैले के भने भने हामी जतिसुकै हल्ला गरौं या कराऔं नेपालमै ग-यौं भने सबैले सुन्छन् । हाम्रा केही साथीहरुको मानसिकता के थियो भने नेपालको मूल्यांकन विदेशमा बस्ने नेपालीहरुले १४ ईन्चको मोनिटरमा हेरेर गर्ने । नेपाल नगाको उनीहरु १०–१५ वर्ष भयो तर नेपाल खराब हो, नेपालको अवस्था ठीक छैन भनेर वकालत गर्ने तिनीहरु नै हुन्थे । मलाई के लाग्यो भने नेपाल नै नगएर मूल्यांकन गर्नु ठीक होईन । नेपालमै गएर नेपालको बारेमा बोल्नु त्यो बढी महत्व हुन्छ जस्तो लाग्यो ।
हामीले अक्टोबर महिनामा सम्मेलन गर्ने निधो ग-यौं । कारण के थियो भने दशैं र तिहार जस्तो महत्वपूर्ण चाडपर्वको बेला धेरै नेपालीहरु घर जाने ईच्छा गर्छन् । आफ्ना आफन्त, इष्टमित्रहरुसँग टिका लगाउने चाडबाड भएकाले पनि यो बेला राम्रो होला भनेर हामीले अक्टोबर महिना छानेका हौं । उक्त समयमा द्वन्द्व चरमोत्कर्षमा पुगेको थियो । मैले भूमिगत भएका माओवादी नेताहरुसँग भेटघाट र छलफल पनि गरें । मैले भने हामी कुनै राजनीतिक पार्टी होइन । हामी सबैको साझा उद्देश्य छ कसरी हुन्छ नेपाललाई समृद्ध बनाउने । हामीले नेपालमा लगानी गर्ने अवधारणा समेत सुनायौं । उनीहरुले शंका व्यक्त गरे, यस्तो बेला लगानीको कुरा गर्नुभएको छ । कसरी सम्भव होला र ? मैले भने यस्तै संकटको बेला नै हो हामीले नेपाललाई हेर्ने । जब कुनैपनि देशमा गरिबी, असमानता हुन्छ तब त्यो देशमा कुनैपनि राजनीतिक वादले काम गर्दैन । त्यहाँ केवल जनता र मुलुकले चाहेको समृद्धिको खाँचो पर्दछ । मैले आफ्नो कुरा सबै राजनीतिक पार्टीहरुलाई राखें । सबै पार्टीले हाम्रो कुरालाई सुनिदियो । यो संस्थालाई कुनैपनि राजनीतिक पार्टीसँग जोडिन नदिनु भनेर सबैले सल्लाह सुझाव दिनुभएको थियो ।
यो संस्था अहिलेसम्म पनि भोलिन्टियर संस्था हो । मेरो पनि मस्कोमा काम थियो । त्यहाँ पैसा कमाएन भने खर्च कसरी गर्ने ? खर्च गर्नका लागि कमाउने ठाउँलाई पनि हेर्नुपथ्र्यो । बिहीबार म मस्कोबाट निस्किन्थे । शुक्रबार मध्यपूर्वका देशहरुमा छुट्टी हुन्थ्यो । शुक्रबार मध्यपूर्वमा रहेका साथीहरुसँग बैठक गर्थें । शनिबार हङकङमा मिटिङ हुन्थ्यो । आइतबार अमेरिकामा रहेका साथीहरुसँग भेटघाट छलफल पछि सोमबार मस्कोमै फर्कन्थे । यसरी आफ्नो काम गरेर भएपनि हप्तामा विभिन्न देशहरुमा गई बैठक छलफल गरी संस्थालाई अघि बढाउन रातदिन दौडेर काम गरियो ।
छोटो अवधिमै साथीहरुलाई कन्भिन्स गर्न सकिएकै कारण आज यो संस्थाले यति धेरै उचाई प्राप्त गर्न सफल भयो । सुरुमा संस्था जन्माउने बेलामा विभिन्न शंका उपशंकाहरु धेरै भए । जस्तो अमेरिका र बेलायतमा रहेका साथीहरुले एनआरएन संस्थाका बारेमा धेरै टिका टिप्पणी गर्ने गर्दथे । हामीले उहाँहरुलाई यो संस्थाको बारेमा कन्भिन्स गर्दा गर्दै बल्ल तल्ल उहाँहरुले बुझ्नुभयो । सुरुमा १० प्रतिशत पनि विश्वास नगरेका साथीहरुले घण्टौं घण्टाको छलफल बैठकपछि उहाँहरुले हामीलाई शत प्रतिशत विश्वास गर्न थाल्नुभयो । नेपालमा प्रत्येक दुई वर्षमा सम्मेलन गर्नुपर्छ भन्ने प्रस्ताव मैले राखें । त्यो सम्मेलनमा साथीहरुको उल्लेख्य सहभागिता हुने ग-यो । तीन दिनसम्म चल्ने सम्मेलनमा साथीहरु सक्रियतापूर्वक सहभागी हुन थाले । एनआरएनप्रति यस किसिमको आकर्षण साथीहरुमा बढ्न थाल्यो ।
सुरुमा हाम्रो टिम एक्टिभ नै थियो । दिनभरि काममा व्यस्त भएपनि रातमा चाहिँ हामी एनआरएनकै बारेमा छलफल, कुराकानी गर्ने गर्दथ्यौं । सुरुमा बिजनेशम्यानहरुको क्लब हो कि भन्ने पनि कुरा आयो । तर बिस्तारै बुझ्दै जाँदा नेपालको आर्थिक समृद्धिको लागि हो भन्ने कुरा हुन थालेपछि विभिन्न देशमा रहेका साथीहरु कन्भिन्स हुन थाले । जब समृद्धिको कुरा आउँछ मैले भन्ने गर्थें कि एनआरएन भनेको नै सबै नेपालीहरुलाई धनी बनाउने संस्था हो । त्यसैले एनआरएनए धनीहरुको संस्था हो । धनी एकैचोटी भईदैन । बिस्तारै हुँदै जान्छ । हाम्रो उद्देश्य, लक्ष्य नै अरु नेपालीहरुलाई धनी सम्पन्न बनाउने हो भने यसलाई धनीहरुको प्रतीकको रुपमा लिंदा केही फरक पर्दैन ।
मैले सुरुमा जुन तीनवटा उद्देश्यहरु राखेर एनआरएन संस्था स्थापना गर्ने मौका पाएँ, त्यसमा गैरआवासीय नेपालीहरुलाई बाँध्न सकें । त्यो बाटोमा डो-याउन सकें । नेतृत्व गर्न चाहनेहरुलाई पनि दुई कार्यकाल भन्दा बढी दिनुहुँदैन भन्ने कुरा मैले नै उठाएँ । एउटै व्यक्ति धेरै कार्यकालसम्म पदमा बसिरहनु हुँदैन । नयाँ आउन चाहने व्यक्तिलाई पनि अवसर दिनुपर्छ भन्ने अवधारणा सुरुवात गरें । मैले दुई कार्यकाल नेतृत्व गरेपछि छोड्न खोजेको थिएँ तर साथीहरुले एनआरएनए यति धेरै उचाईमा पुग्न लागेको छ, अब बाँकी एक कार्यकाल तपाईले नै सम्हाल्नुपर्छ भनेर धेरै प्रेसर आयो त्यसपछि तीन कार्यकाल मैले नेतृत्व गरें ।
सुरुवाती दिनहरुमा एनआरएनप्रतिको गरिमा बढेको तर अहिले आउँदा एनआरएन संस्थाप्रतिको गरिमा धेरै घटेको देखिन्छ । यस्तो अवस्था किन आयो ? कसरी समीक्षा गरिरहनुभएको छ ?
डा. महतो : एउटा कुरा के हो भने यो संस्थाको परिकल्पना गर्ने बेलामा नै समय अलि छिटो भयो । मैले १५–२० वर्षको परिकल्पना केमा गरेको थिएँ भने यो संस्था जति ठूलो हुँदै जान्छ, यो संस्थामा नेतृत्वको लागि, यो संस्थामा भित्र पस्नको लागि त्यत्तिकै मान्छेहरु उत्सुक हुन्छन् । हिजो व्यक्तिको पर्सनालिटी, छविले यो संस्थालाई माथि ल्यायो । आज यो संस्थाको छविले व्यक्तिको पर्सनालिटीलाई माथि ल्याउन खोज्यो । हामी छोटो समयमै धेरै माथि आईपुग्यौं । केही साथीहरु धेरै नै उत्साहित हुनुभयो एनआरएन संस्थामा प्रवेश गरेपछि । सायद यस्तो लाग्यो कि पचाउनै गाह्रो भयो । धेरै साथीहरुलाई लाग्न थाल्यो कि एनआरएनको पदमा आउन पाईयो भने धेरै ठूलो भईंदो रहेछ । राम्रै मान प्रतिष्ठा, ईज्जत पाईने रहेछ । यस्तो किसिमको सोच भएकाले अलि अलि प्रभाव पार्छ नै ।
अर्को कुरा यो संस्था यति ठूलो भैसक्यो कि यसमा कसैले राजनीति प्रवेश गराउन सक्छ । यस कुरामा सबैजना सचेत हुनुपर्छ । नेतृत्वमा आउन पैसाको चलखेल गर्ने प्रवृत्ति आएको हो । तर यो क्षणिक हुन्छ । यो प्रवृत्ति आफैं हराएर जान्छ । धेरै फूर्सदिलो भएको व्यक्ति नेतृत्वमा आउन खोज्यो भने उसले कहीँ न कहीँ राजनीतिक स्वार्थ छिराएर आफ्नो फाइदा लिन खोज्छ । त्यसैले यस्तो व्यक्तिलाई पनि नेतृत्वमा आउन दिनुहुँदैन भन्ने मेरो भनाई हो । एनआरएनए सबै नेपालीको साझा संस्था हो । यो कुनै कांग्रेस, कम्युनिष्ट वा राजावादीहरुको संस्था होईन । सबैजना अटाउने संस्थामा किन कुनै राजनीतिक पार्टीको विचार बोक्नेलाई ल्याउन खोज्नुहुन्छ । यस कुरामा हामी सबै सचेत र सजग होऔं ।
अहिले एनआरएनमा निशुल्क सदस्यता र अनलाईन भोटिङ सिस्टमको कुरा उठेको छ । यसमा मेरो भनाई के छ भने कुनैपनि संस्था चलाउन पैसा चाहिन्छ । विना पैसा संगठन चलाउन सकिंदैन । आज पचास लाख व्यक्तिहरु नेपाल बाहिर छन् । तर सबैजना एनआरएनएको सदस्य होईनन् । एनआरएनएको सदस्यहरु सीमित व्यक्ति मात्र छन् । जो जो सदस्य छन् के उनीहरुले अरु नेपालीहरुलाई हेर्नु पर्दैन । निशुल्क भन्ने बित्तिकै त्यसको महत्व घटाउनु हुँदैन ।
अर्को कुरा अनलाईन मतदानको कुरा आएको छ । हेर्नुस, म त किसान परिवारबाट हुर्किएर आएको मान्छे । मेरो सोच अलिकति परम्परावादी हुन सक्छ । हिजो माओवादी चरम द्वन्द्वका बेला मान्छेहरुमा सुरक्षाको विषय धेरै उठेको थियो । आफ्नै देशमा आएर कार्यक्रम गर्दा त्यसको सन्देश विश्वभरि जान्छ भन्ने हाम्रो मान्यता थियो । द्वन्द्वका बेला कार्यक्रम गर्दा सबै नेपालीहरुले हामीलाई साथ दिए । हामीलाई त्यस्तो कुनै डर, धम्की कतैबाट आएन । तर आज त्यस्तो परिस्थिति छैन ।
नेपाललाई माया गरौं । नेपालको पर्यटन प्रबद्र्धन गरौं भन्ने कुरा उठिसकेपछि के हामीले नेपालको पर्यटन प्रबद्र्धन गर्नु पर्दैन ? आफ्नो देशलाई सम्झिएर आउँदा धेरै एनआरएनहरु यहाँ आए भने यहाँकै पर्यटनको विकास हुन्छ । जो जहाँ छ, त्यहाँ बसेर अनलाईनबाटै भोटिङ गर्ने सिस्टम भयो भने नेपालमा गैरआवासीय नेपालीहरुको आगमन हुने संख्या घट्दै जान्छ । नेपाल आउँदा केही न केही नेपालबाट उहाँहरुले लिएर जानुहुन्छ । जब हामी भौतिक रुपमै उपस्थिति जनाएर कुनै कार्यक्रम गर्छौं भने त्यसको प्रभाव सधैंभरि रहन्छ । मेरो भनाई अनलाईन सिस्टममा भन्दा पनि फिजिकल्ली उपस्थित भएर गर्दा उसको हाउभाउ, बोलिबचन व्यवहार सबै कुराले प्रभाव पार्छ ।
नेपाललाई माया गर्छौं भन्नेहरुले यस कुरामा ध्यान दिनुपर्दछ । चुनावमा धाँधली, नाटक हुन्छ भनेर डराएर भएन । नाटक त जुनसुकै मुलुकको चुनावमा पनि हुन्छ । चुनाव सकिसकेपछि हामी सबै एक होऔं भनेर लाग्नसक्नुपर्छ ।
म अहिले पनि भन्छु, एनआरएन हिजो जस्तो थियो, आज पनि त्यस्तै छ । यसको गरिमा र महत्व कत्तिपनि घटेको छैन । यो एउटा अभियान हो । हामीले नेपाललाई धनी बनाउने जुन उद्देश्य र लक्ष्य लिएर यो अभियानको सुरु गरेका थियौं, अझै सक्रियताका साथ यो अभियान अघि बढ्छ । संस्था धेरै ठूलो भईसकेको छ, अब यसलाई कसैले बिगार्न, भत्काउन सक्दैन । यसको जरो धेरै तलसम्म गएर फैलिएको छ । कसैले यसलाई भाँच्न सक्दैन ।