धुर्मुस-सुन्तली देशका सच्चा सपूत किन ?

धुर्मुस-सुन्तली अर्थात् सिताराम कट्टेल र कुन्जना घिमिरे दुई नाम मात्र नभएर एउटा छुट्टै ब्राण्ड नै बनेका छन् ।

सानो कला क्षेत्रबाट उदाएका असाधारण प्रतिभाका खानी उनीहरु अब्बल अभिनय र क्यारीकेचर गर्दै समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न, हाम्रो पुरानो समाजको रुढीवादी विश्वासलाई आधुनिक समाजमा रुपान्तरण गर्नका निमित्त आफै नै निर्देशक, लेखक र कलाकार बनेर आफ्नो कला पोखिरहेका छन् ।

आफ्नो कलाकारितालाई निख्खरता दिँदै नेपालका विभिन्न टेलिभिजन, रेडियो मार्फत् हाँस्यटेलिश्रंखलामा अभिनय गरिसकेका यी जोडीको कार्यक्रम टिभीमा प्रशारण हुने दिन प्राय नेपाली परिवार आँखा नझिम्काइ टिभीकै अगाडि बस्ने चलन रहिआएको छ ।

आफ्नो कलाकारिताले नेपालमा मात्र नभएर विश्वभरि नै अत्याधिक ख्याति कमाएका छन् यी दम्पतीले । देशविदेशमा कार्यक्रम गर्न खुब प्रस्तावहरु आइरहने उनीहरुलाई सोही क्रममा प्रस्तुति दिन अमेरिकाबाट निमन्त्रणा आयो । उनीहरु अमेरिका पुगे । अमेरिकाको विभिन्न ठाउँमा आफ्नो कला प्रस्तुत गरेर राम्रो आम्दानी पनि गरिरहेका वेला नेपालले अचानक २०७२ को विनाशकारी भूकम्प झेल्नुपर्यो ।

यो खबर सुन्नासाथ तत्कालै आफ्नो सबै कार्यक्रम बीचमै छोडेर धुर्मुस सुन्तली आफ्ना देशवासीको सहयोग गर्न नेपाल आइपुगे । आउनासाथ उनीहरु सबै किसिमको मानवीय सहयोगमा जुटे पनि । आफूले अमेरिकामा कमाएको धेरथोर रकम उनीहरुले पीडितहरुलाई सहयोग स्वरुप हस्तान्तरण समेत गरे । तुरुन्त राहतस्वरुप कसैलाई लत्ताकपडा, कसैलाई अन्नपात, कसैलाई पैसा दिएर मानवीय सेवामा तल्लीन रहे ।

भूकम्पमा थिलथिलो परेका घरबारविहीन नेपालीहरुका निमित्त विश्वमाझ फेरि सहयोग अपेक्षा गर्दै राहत संकलनमा जुटेका यी मनकारी जोडीले भूकम्प पीडितहरुका लागि धुर्मुस सुन्तली फाउन्डेसन मार्फत पहिलो गिरान चौर बस्ती निर्माण गरेर घरबार विहीनहरुलाई वासस्थानको व्यवस्था गरी राष्ट्रपति विद्यादेवी भण्डारी र मह जोडीमार्फत् हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, भूकम्प पीडितहरुलाई नमूना बस्ती र बाढी पीडितहरुलाई मुसहर बस्ती र सन्तपुर बस्ती निर्माण गरी सरकारले गर्न नसकेको काम गरेर एउटा उदाहरणीय पात्र बने यी दम्पती ।

यसै क्रममा नेपालमा पनि क्रीकेट खेलको उदय हुँदै थियो, नेपाली क्रीकेट खेलाडीहरुले देश तथा विदेशमा खेल कौशलता प्रदर्शन गरेर नाम कमाइ रहेका थिए ।

विश्वका क्रीकेट रंगशालाको तुलनामा नेपालको क्रीकेट रंगशाला आधुनिक नभएको र यसले नेपाली क्रीकेट खेलाडीहरुको उत्साह र उमंगमा असर पारेको देखेर धुर्मुस सुन्तली मनमा एउटा कौतुहलता जाग्यो । यही कौतुहलताले जन्मायो एउटा योजना, आधुनिक क्रीकेट रंगशाला निमाण गरी नेपाली क्रीकेट प्रेमीहरुलाई एउटा क्रीकेट स्टेडियम हस्तान्तरण गर्ने । जस अन्तर्गत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको थालनी भयो । जुन चितवनमा निर्माणधीन छ।

भर्खरै निर्माण भइरहेतापनि यस क्रीकेट रंगशालाको काम फिल्डमा गएर अवलोकन गर्दा क्रीतिपुर क्रीकेट रंगशाला भन्दा धेरै राम्रो बनेको देख्न सकिन्छ । चौर निर्माण भइसकेको छ, चारैतिरको ढल निर्माण भइसकेको छ, चारैतिर कुर्सी राख्ने, सिमेन्टका भर्याङ्हरु बनी सकेका छ्न्, फाइबर जस्ताहरु राख्ने, पिल्लरहरु आधा भन्दा बढी निर्माणधीन छ्न्, बनेका सबै पिल्लरको अवस्था भित्री पार्टहरु पाँच सय वर्षसम्म पनि केही नहोला जसो गरी निर्माण गरिएको छ । यसको आकार, संरचना हेर्दा कुनै रकम हिनामिना गरेको देखिँदैन । बरु उल्टै अझै सहयोग गरौं भन्ने भावना जाग्न सक्छ ।

त्यसैले धुर्मुस सुन्तलीले कुनै किसिमको आर्थिक हिनामिना गरेको कतैपनि देखिँदैन । संकीर्ण सोच राखेर, अवलोकन नगरी सुनेको भरमा परिभाषा गर्दा धुर्मुस सुन्तलीलाई ठूलो अन्याय हुनेछ । त्यसैले एकपटक स्थल अवलोकन नगरी कसैले पनि आफ्नो राय नदिएकै उचित हुनेछ ।

निर्माणका शुरुवाती दिनहरुमा त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा तीर्थ खनिया, रामपुर क्याम्पसका डिन, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, उपमेयर पार्वती रावल र सबै वडाका वडा अध्यक्षहरु साथै बौद्धिक व्यक्तित्वहरु र धुर्मुस, सुन्तलीको अगुवाइमा कसरी निर्माण गर्ने र भोलि केही समस्याहरु आए कसरी अगाडि बढ्ने भन्ने विषयमा पूर्व सल्लाह भएको थियोे । यसरी एउटा जेन्ट्ल एग्रीमेन्ट सबै पक्षबाट भएपछि मात्रै निर्माणको काम शुरु भयो ।

यस दौरान कहिले बाटोको समस्या, कहिले तारा बरालको अबुझका कारण समस्याहरु झेल्दै काम अगाडि बढदै गयो । यस्ता समस्याहरु आउँदा पनि सिताराम रकुन्जनाको टिम अहोरात्र खटी काम गर्दै अघि बढे ।

फेरि पैसाको अभाव हुने भएपछि सोही क्रीकेट रंगशालामा महायज्ञ लगाएर केही पैसा संकलन गरियो । कसैले भने सहयोग गर्छु भनी बोली त दिए तर भनेबमोजिमको रकम अहिलेसम्म दिएका छैनन् । त्यस्तै शुरुमा राष्ट्रिय सभा हलमा बोलेका यश ट्राभलको तीन करोड, आशा हस्पिटल चितवनले बोलेको दस लाख, १९ नं का वडा अध्यक्षले बोलेका ३० लाख अरु साना साना बोलेका रकम पनि अझै दिइएको छैन।

यी सबै बोलेका रकम दिने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको भित्री र बाहिर महत्त्वपूर्ण भागहरु अहिलेसम्म बनिसक्थे । ती बाहेक त्यहाँ भित्र एउटा फुटबल ग्राउन्ड, तालिम हल, ७५ जिल्ला दर्शाउने कोठाहरु, अफिस कोठाहरु, क्यान्टिन, पार्किङ र कम्पाउन्ड बनाउन बाँकी रहने थिए ।

विश्वमा फैलिएको कोरोना महामारीले गर्दा पनि यो नेपालको अहिलेसम्मकै महत्वकांक्षी योजनालाई ठूलो क्षति भएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको निर्माण स्थलको माटोमा पहिला पाइला राख्दा पहिलो चेक मैले नै दिएको थिएँ, त्यसपछि मेरा साथीहरुले कोही अमेरिका, नेदरल्यान्ड, जापान र नेपालबाट मेरै विश्वासमा सहयोग हस्तान्तरण गरेका छन् ।

हामीले धुर्मुस सुन्तली फाउन्डेसनलाई सम्मान गरी अझै सहयोग हातहरु फैलाउन जरुरी छ ।

पैसा कमाउन पल्केका केही मिडिया र १ रुपैयाँ पनि सो फाउन्डेसनमा सहयोग नगरेका मिडिया वा व्यक्तिले भनेको भरमा सत्य कुरालाई नबुझी मनगणेन्द्र कुरामा लागियो भने धुर्मुस सुन्तली माथि ठूलो अन्याय हुनेछ।

यस्ता प्रतिभालाई हतोत्साहित गरेमा देशले ठूलो नोक्सान बेहोर्नु पर्नेछ । हामीले यस्ता महान कलाकार र व्यक्तित्व जो सुकै नेपाली भएपनि हौसला र उर्जा दिन अति नै जरुरी हुन्छ । धुर्मुस सुन्तली नेपाल आमाका सच्चा सपुतहरु हुन् । यसमा दुईमत छैन । हामी देशभक्त युवाहरूले उनीहरुलाई मनै देखि स्यालुट गर्दछौं ।

लेखक:

भविलाल चापागाईं
सामजिक अभियन्ता ,
रोड्सो हाउजिङका अद्द्यक्ष,
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय सल्लाहकार,
जे बि फाउन्डेसन चितवनका सभापति,
जे बि फाउन्डेसन बागमती अञ्चलका केन्द्रिय सदस्य,
फर्मासिट ।