एनआरएनए एनसीसी अमेरिकाका महासचिव अञ्जन कुमार चौंलागाइँसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
एनआरएन एनसीसीको भौतिक रुपमा बैठक हुन गइरहेको छ । किन, कहाँ र कसरी ? बताइदिनूस् न ।
हाम्रो बैठक फ्लोरिडाको ओर्लान्डो शहरमा हुन गइरहेको छ । अहिले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर भौतिक रुपमा उपस्थित हुनुपर्ने भनिएतापनि यो अनिवार्य भने होइन । अर्थात् जसले टिकट लिइसक्नुभएको छ र जान सक्ने अवस्थामा हुनुहुन्छ उहाँहरु मात्र उपस्थित हुनुपर्छ । स्वास्थ्यमा समस्या भएका र टिकट नलिएका सहस्यहरुले भने अनलाइन मार्फत् नै बैठकमा उपस्थित हुन सकिनेछ । र, यस बैठकको मुख्य उद्देश्य भनेको हाम्रो कार्यसमितिको कार्ययोजना, हामीले अहिलेसम्म गरेका काम साथै भावी योजनाहरुका बारेमा छलफल गर्नु हो । साथै साधारण सभाका लागि स्थल निर्धारण गर्नु पनि हाम्रो एजेण्डामा पर्दछ ।
यहाँहरुले विभिन्न टास्कफोर्स पनि गठन गर्नुभएको छ जसमा कति आकांक्षीहरु परेनन् । यो कुराले गर्दा कति गुनासोहरु पनि गरेको देखियो । उक्त टास्कफोर्स कसरी गठन गरियो ? आधारभूत कुराहरु केके हुन् ?
निकै महत्वपूर्ण प्रश्न हो यो । वास्तवमा भन्नुपर्दा हाम्रो कार्यसमिति भनेको परिवर्तनको लागि गठन भएकोे जस्तो मलाई लाग्छ । टास्कफोर्सलाई कार्यकर्ताको भर्ती केन्द्रको रुपमा नलिइयोस् भनेर अघिल्ला दिनका गल्तीहरु नदोहोरियोस् भन्ने हाम्रो उद्देश्य हो । चसनावमा सहयोग गरेको भन्दै सर्टिफिकेटको रुपमा टास्कफोर्समा समावेश गरिन्थ्यो जुन प्रक्रियालाई पूर्णरुपमा अस्वीकार गर्दै हामीले योग्य व्यक्तिलाई समूहमा नियुक्त गरेका छौं । उपाध्यक्ष लगायत पदाधिकारीहरुको सिफारिसमा पनि हामीले टास्कफोर्समा सदस्यहरु छानेका छौं । चयन प्रक्रिया अझै सकिसकेको भने छैन ।
यहाँको एकवर्षको एनआरएनए एनसीसी अमेरिकाको यात्रा करिब करिब सकिने क्रममा छ । यो यात्रा कस्तो रह्यो महासचिव ज्यू ?
फेरि पनि महत्वपूर्ण प्रश्न राख्नुभयो । धन्यवाद ।
यो कार्यसमिति बनिसकेपछि हामीले सुरुमै भनेका थियौं कि हामीले कसैलाई जिताउन वा हराउनलाई यो समिति बनाएको होइन । डेलिगेट छनौटको विषयलाई लिएर आइसीसी र अन्य देशहरुबीच भएको मतभेदका कारण आइसीसी चुनावका लागि हामी केही ढिलो पक्कै भएका छौं ।
यद्यपि हामीले नेपाल र नेपाली जनताको हीतका निमित्त केही महत्वपूर्ण कार्यहरु गरेका छौं । यही कोरोना कहरकै क्रममा पनि गैरआवासीय नेपाली संघ अमेरिकाको पहल र नेतृत्वमा ३ करोड १८ लाख भन्दा बढीको सामान नेपाल सरकारलाई हस्तान्तरण गरेका छौं । यस्तैयस्तै अन्य कामहरु पनि हामीले गरेका छौं जुन विस्तारमा भन्नलाई अलिक बढी नै समय लाग्न सक्छ ।
आइसीसीको चुनाव गर्ने विषयमा निकै ठूलो तनाव उत्पन्न भयो । अक्टोबरमा हुनुपर्ने अहिलेसम्म हुन सकेको छैन । एनसीसी अमेरिका सबैभन्दा व्यापक समिति रहेको र यहाँ यसको महासचिव भएकाले त्यस प्रकरणलाई कसरी हेर्नुभएको छ ?
म यसमा धेरै कुरा भन्न चाहान्नँ । आइसीसी र एनसीसीबीच धेरै समस्याहरु आए जसको समाधानका लागि परराष्ट्र मन्त्रालयदेखि नेपाल सरकारले नै पनि थुप्रै प्रयासहरु गरेको देखियो । यहाँसम्म कि अदालत सम्मै पनि कुरा पुग्यो । तर, अहिले संस्थाहरुबीच केही सहजता आएको जस्तो देखिन्छ र यस समस्याले चाँडै निकास पाउनेछ जस्तो लाग्छ ।
यो सहजीकरणमा अमेरिकाको केही भूमिका रहेको देख्नुभयो ?
अवश्य पनि एनआरएन अमेरिकाको ठूलो भूमिका रहन्छ । विगतमा यही विवादकै बीच पनि अमेरिकाले विश्वभेला आयोजना गर्यो । सो भेलामा निस्किएको आवाज र विचारहरुलाई पक्कै पनि आइसीसीले मनन गर्नेछ र विधि र कानूनसम्वत् आइसीसीको अधिवेशन हुनेछ भन्ने कुरामा हामी सबै विश्वस्त छौं ।